"फ्रान्सेली रेकर्ड ताेडेर उदाएका ' फुटवलका निर्मम सुनामी' " किलियन एम्बाप्पे !"
फ्रान्सेली फुटबलको उर्वर भूमिले जस्ट फन्टेन, मिशेल प्लाटिनी, जीन-पियरे पापिन र थियरी हेनरी जस्ता महान् हस्तीहरू जन्मायो। तर, जब विपक्षीको पोस्टमाथि निर्मम प्रहार गर्ने र गोलको वर्षा गर्ने कुरा आउँछ, तब सेनेगलविरुद्धको विश्वकप उद्घाटन खेलपछि एउटा अकाट्य सत्य स्थापित भएको छ, किलियन एम्बाप्पे उनको अगाडि इतिहासका ती सबै सुनौला पानाहरू फिका पर्छन्।
मात्र २७ वर्षको उमेर। रियल मड्रिडका यी जादुगर फरवार्डले ५८ अन्तर्राष्ट्रिय गोलसहित ओलिभियर जिरुडलाई पछि पार्दै आफूलाई फ्रान्सको 'सर्वकालीन सर्वाधिक गोलकर्ता' को सिंहासनमा स्थापित गरेका छन्। यो केवल एउटा रेकर्डको पतन होइन, यो विश्व फुटबलमा एम्बाप्पे युगको डरलाग्दो उद्घोष हो।
आफ्नै रेकर्ड तोडिएपछि पण्डितको रूपमा बोल्दै जिरुडले भने, "बधाई छ किलियन! म उनको लागि धेरै खुसी छु। यो स्वाभाविक थियो। उनले अब फ्रान्सका हरेक कीर्तिमान तोड्नेछन्,चाहे त्यो सर्वाधिक खेल होस् वा गोल। मलाई लाग्छ उनले सजिलै १०० गोलको आँकडा पार गर्नेछन् र मिरोस्लाभ क्लोजको विश्वकप रेकर्ड पनि खरानी बनाउनेछन्। उनी साँच्चिकै अद्भुत क्षमताका छन्।"
तथ्यांक जसले फुटबल पण्डितहरूलाई चकित पार्छ
एम्बाप्पेका तथ्यांकहरू हेर्दा जो कोहीको सातो जान्छ। उनले फ्रान्सका लागि १०० खेल पनि नखेली (मात्र ९९ खेलमा) ५८ गोलको जादुयी आँकडा छोएका हुन्। विश्वकपमा १४ गोल गरिसकेका उनी जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको 'अभेद्य' मानिएको कीर्तिमानभन्दा मात्र २ पाइला पछाडि छन्। २०२२ को फाइनलमा अर्जेन्टिनाविरुद्ध पराजित भए पनि उनी ज्योफ हर्स्टपछि विश्वकप फाइनलमा ह्याट्रिक गर्ने विश्वकै दोस्रो खेलाडी हुन्।
फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लोरेन्सको दाबी छ, "अहिलेको अवस्थामा जिनेदिन जिदान र मिशेल प्लाटिनी मात्र उनीभन्दा अगाडि मान्न सकिएला। तर उनको गोल गर्ने शैली, २०१८ को विश्वकप उपाधि, २०२२ को फाइनलको त्यो ऐतिहासिक ह्याट्रिक र मैदानमा अहिलेको कप्तानी नेतृत्व हेर्दा उनी आफ्नो करियरको अन्त्यसम्ममा निर्विवाद 'नम्बर एक' खेलाडी बन्नेछन्।"
'प्रोजेक्ट एम्बाप्पे': बोन्डीको सडकदेखि विश्व राजसम्मको खाका
सन् १९९८ मा फ्रान्सले पहिलोपटक विश्वकप जितेको ठीक ५ महिनापछि पेरिसको सीमान्तकृत इलाका 'बोन्डी' मा जन्मिएका एम्बाप्पेको सफलता कुनै संयोग होइन। यो एउटा सुनियोजित 'प्रोजेक्ट' थियो। उनका बुबा विल्फ्रेड (प्रशिक्षक) र आमा फैजा लामारीले सानैदेखि उनको प्रतिभालाई निखार्ने काम गरे।
"किलियनको दुनियाँमा केवल तीन कुरा थिए,स्कुल, फुटबल र घर," उनका बाल्यकालका साथी रायन वियंगा सम्झन्छन्। "उनी सानैदेखि आफ्नो उमेर समूहभन्दा निकै अगाडि थिए। उनको एउटै कडा नियम थियो, सधैं उत्कृष्टहरूसँग मात्र खेल्ने।"
१४ वर्षको कलिलो उमेरमै युरोपका ठूला क्लबहरूले उनलाई पछ्याउन थालेका थिए। तर परिवारले उनलाई किशोरावस्थामा फ्रान्समै राख्ने अठोट गर्यो। १६ वर्ष ३४७ दिनको उमेरमा मोनाकोको इतिहासकै सबैभन्दा कान्छो खेलाडी बन्दै उनले थियरी हेनरीको रेकर्ड तोडे। त्यसको तीन महिनापछि गोल गर्दै उनले हेनरीकै अर्को रेकर्ड पनि ताेडे ।
अहंकारको इन्धन र परिपक्क नेतृत्व
मोनाकोमा पुगेपछि एकपटक एम्बाप्पेलाई एउटा पत्रिकाको कभर डिजाइन गर्ने काम दिइएको थियो। उनले सोझै विश्वप्रसिद्ध 'टाइम म्यागजिन' रोजे र त्यसमा आफ्नो तस्बिर राखेर हेडलाइन लेखे— 'एल मास्ट्रो' (द मास्टर)। यो उनको अदम्य आत्मविश्वास थियो, जुन चार वर्षपछि उनले विश्वकप जितेर यथार्थमा परिणत गरे र साँच्चिकै टाइम म्यागजिनको आवरणमा छाए।
२०१७ मा उनी विश्वकै सबैभन्दा महँगो किशोर खेलाडी बने। "सफलताको लागि अहंकार एक आवश्यक इन्धन हो," पूर्व PSG निर्देशक मार्टिन बुचेट भन्छन्, "तर मुख्य कुरा त्यसलाई नियन्त्रण गर्नु हो। उनको परिवारले सधैं उनलाई सही बाटोमा राख्यो।"
आज, डिडियर डेसच्याम्प्सले सुम्पिएको कप्तानको आर्मब्यान्ड लगाएपछि एम्बाप्पे एक आत्मकेन्द्रित स्टारबाट परिपक्व 'लिडर' मा रूपान्तरण भएका छन्। च्याम्पियन्स लिग र ब्यालोन डी'ओर जस्ता ठूला उपाधिहरू अझै उनको पर्खाइमा छन्। तर एउटा कुरा निश्चित छ,एम्बाप्पेको यो तुफानले फुटबलको इतिहासमा यस्तो खतरनाक छाप छोड्नेछ, जसलाई भेट्न आउने पुस्तालाई शताब्दीऔं लाग्नेछ।
श्रोत: अनलाइन

Comments
Post a Comment