विश्वकप फुटबलमा इतिहासमा उदाउदाे कतारको ऐतिहासिक पहिलो अङ्क: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

सान फ्रान्सिस्को ,      इन्जुरी समयको अन्तिम मिनेटमा कप्तान बोउलेम खोउखीले उत्कृष्ट गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १–१ को रोमाञ्चक बराबरीमा रोकेको छ। शनिबार राति सम्पन्न यस खेलसँगै कतारले विश्वकप इतिहासमा आफ्नो पहिलो ऐतिहासिक अङ्क (Point) समेत जोड्न सफल भएको छ।

सन् २०२२विश्वकप फुटबल मा आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दा आफ्ना सबै तीन खेलमा पराजय बेहोरेको कतारका लागि यो अङ्क ऐतिहासिक उपलब्धि हो। लगातार दुई पटक (२०१९ र २०२३) को एसियन कप विजेता कतारले यसपटक छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएको हो।

खेलको सुरुवाती मिनेटदेखि नै मिडफिल्डमा वर्चस्व जमाएको स्विट्जरल्यान्डले १७ औँ मिनेटमा अग्रता लिएको थियो। स्विस स्ट्राइकर ब्रिल इम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए। यो उनको राष्ट्रिय टोलीका लागि २५ औँ अन्तर्राष्ट्रिय गोल समेत थियो।

त्यसअघि खेलको तेस्रो मिनेटमै स्विट्जरल्यान्डका अनुभवी डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले गोलको सुनौलो अवसर पाएको थियो। तर, इडमिल्सन जुनियरको प्रहारलाई स्विस गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गरे। खेलको १० औँ मिनेटमा स्विट्जरल्यान्डका डान एनडोयेले १० यार्ड टाढाबाट गरेको प्रहार पोस्ट बाहिर जाँदा स्विट्जरल्यान्डले पनि अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो।


दोस्रो हाफमा स्विट्जरल्यान्डले जिततर्फ खेललाई डोर्‍याइरहेका बेला थपिएको ६ मिनेटको इन्जुरी समय नाटकिय बन्न पुग्यो। खेलको ९०+५ औँ मिनेटमा देव्रे साइडबाट आएको एउटा सुन्दर क्रसलाई कतारी कप्तान बोउलेम खोउखीले पोस्टको दिशा दिँदै खेललाई १–१ को बराबरीमा ल्याए।

यस बराबरीसँगै कतारले बलियो युरोपेली प्रतिद्वन्द्वी विरुद्ध महत्त्वपूर्ण १ अङ्क खोस्न सफल भयो भने स्विट्जरल्यान्ड अङ्क बाँड्न बाध्य भयो।

लगातार दुई पटकको एसियन च्याम्पियन कतारको यो प्रदर्शन तपाईँलाई कस्तो लाग्यो? कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोला!






Comments

Popular posts from this blog

विश्वकप २०२६: नेदरल्यान्ड्स र जापानबीच महाभिडन्त, कसले मार्ला बाजी?

अवैध इजरायली बस्तीको जमिन बिक्री विरुद्ध लन्डनमा विशाल प्रदर्शन