३ महिने युद्धपछि अमेरिकालाई झड्का, मध्यपूर्वमा इरानको रणनीतिक विजय !
झन्डै ९० दिनसम्म चलेको वासिङ्टन र तेहरानबीचको प्रत्यक्ष सैन्य टकराव अन्ततः एक अप्रत्याशित शान्ति सम्झौतातर्फ मोडिएको छ। इजरायलको प्रत्यक्ष साथ लिएर इरानको इस्लामिक सत्ता पल्टाउने र पश्चिम-अनुकूल सरकार स्थापित गर्ने अमेरिकी महत्वकांक्षी लक्ष्य यस पटक विफल मात्र भएन, यसले विश्व राजनीतिको शक्ति सन्तुलनमै नयाँ कम्पन पैदा गरेको छ। परम्परागत हार र जितको तराजुमा जोख्न कठिन भए पनि, यस युद्धको परिणामले अमेरिकालाई रणनीतिक धक्का र इरानलाई नयाँ शक्तिको रूपमा उभ्याएको छ।
सुरुवाती आक्रमणमा इजरायल र अमेरिकाकाे मुख्य निसाना इरानी सर्वोच्च नेता र त्यहाँको आणविक तथा क्षेप्यास्त्र क्षमता नष्ट गर्नु थियो। आक्रमणका क्रममा उच्च इरानी नेतृत्वले ज्यान गुमाए पनि, वासिङ्टन र तेल अभिभले अपेक्षा गरे अनुरूप इरानमा आन्तरिक विद्रोह भएन। बरु, विदेशी हस्तक्षेपको विरोधमा लाखौं इरानी नागरिक सडकमा ओर्लिए। आफ्नो राज्यप्रणाली र सुरक्षा फौज (आईआरजीसी) को रक्षाका लागि जनताले बनाएको मानव साङ्लो र अभूतपूर्व राष्ट्रवादी ऐक्यबद्धताले अमेरिकाको 'सत्ता परिवर्तन' गर्ने रणनीतिलाई चकनाचुर पारिदियो।
यस द्वन्द्वले महाशक्ति अमेरिकालाई सैन्य र आर्थिक दुवै मोर्चामा नराम्ररी गलायो। तेहरानले युद्धलाई केवल आफ्नो सिमानाभित्र खुम्च्याएन, उसले रणनीतिक महत्वको 'हर्मुज जलडमरु' मा आफ्नो बलियो पकड जमायो। विश्वको प्रमुख ऊर्जा मार्ग नियन्त्रण गर्दै त्यहाँबाट आवतजावत गर्ने जहाजसँग शुल्क उठाउने इरानी कदमले विश्वव्यापी आपूर्ति शृङ्खलामा गम्भीर धक्का दियाे अमेरीकालाइ लाचार बनायाे ।
खाडी क्षेत्रमा रहेका दुई दर्जन अमेरिकी सैन्य अखडाहरूमा इरानी क्षेप्यास्त्रको वर्षा हुँदा अर्बौं डलर बराबरका अत्याधुनिक लडाकु विमान, ड्रोन र युद्धपोतहरू खरानी भए। यसले अमेरिकी अर्थतन्त्रलाई मन्दीको डिलमा मात्र पुर्याएन, विश्वभर रहेको उसको 'अजेय' छवि र साझेदारहरू बीचको विश्वासमा समेत गहिरो क्षती पुर्याएको छ।
आगामी जुन १९ मा हस्ताक्षर हुने भनिएको यस सहमतिका सर्तहरूले इरानलाई असाधारण कूटनीतिक र आर्थिक विजय दिलाएको छ। सम्झौताका प्रमुख प्रावधानहरू यसप्रकार छन्:
अर्बौं डलरको आर्थिक फुकुवा: सन् १९८० को दशकको इस्लामिक क्रान्तिपूर्वदेखि वासिङ्टनले रोक्का राखेको तेहरानको करिब ३ सय अर्ब डलर रकम किस्ताबन्दीमा फिर्ता गरिने।
पूर्ण नाकाबन्दीको अन्त्य: एक महिनाभित्र व्यापारिक मार्ग (हर्मुज) पूर्ण सुचारु गर्दै इरानमाथिका सम्पूर्ण प्राथमिक र द्वितीयक प्रतिबन्धहरू खारेज गरिने।
सुरक्षाको सुनिश्चितता: इरानको वरपर रहेका अमेरिकी सैन्य गतिविधिहरू तत्काल कटौती गरिने र भविष्यमा इजरायल वा अमेरिकाबाट आक्रमण नहुने ग्यारेन्टी वासिङ्टनले लिने।
आणविक सर्त: बदलामा तेहरानले आणविक हतियार निर्माण नगर्ने पुरानै अडानलाई पुनः पुष्टि गर्ने।
यसका साथै, आगामी दुई महिनाभित्र युद्धको क्षतिपूर्ति र आणविक कार्यक्रमको विषयमा अन्तिम चरणको वार्ता अघि बढ्नेछ।
यो सम्झौतालाई लिएर शान्तिको सास फेर्नेहरू जति छन्, असन्तुष्टहरूको जमात पनि त्यति नै ठूलो छ। अमेरिकी आन्तरिक राजनीतिमा यसलाई 'महाशक्तिको आत्मसमर्पण' भनिएको छ भने इरानभित्रै पनि कट्टरपन्थीहरूले पश्चिमासँगको सम्झौताप्रति आशंका व्यक्त गरिरहेका छन्।
सबैभन्दा ठूलो चुनौती भने तेल अभिभ (इजरायल) बाट देखिएको छ। इजरायली प्रधानमन्त्रीदेखि रक्षा मन्त्रालयसम्मले यस सम्झौतालाई ठाडै अस्वीकार गर्दै लेबनानमा रहेका इरान समर्थित समूहमाथिको आक्रमण नरोक्ने चेतावनी दिएका छन्। अब अमेरिका आफ्नै प्रमुख साझेदार इजरायललाई चिढ्याएर शान्ति सम्झौता बचाउने कि सम्झौता तोडेर पुनः अनन्त युद्धमा होमिने भन्ने गम्भीर संकटमा फसेको छ।
भौतिक संरचना र केही उच्च नेतृत्वको क्षति व्यहोरे पनि, समग्र रणनीतिक र कूटनीतिक रूपमा यो टकरावले मध्यपूर्वमा तेहरानको उदयलाई औपचारिकता दिएको छ। दशकौंदेखिको नाकाबन्दीबाट थलिएको इरानले अमेरिकी सैन्य शक्तिको डटेर सामना मात्र गरेन, आफ्ना सर्तहरूमा वासिङ्टनलाई सम्झौता गर्न बाध्य बनायो। युद्धको यो परिणामले खाडी क्षेत्रमा अमेरिकी वर्चस्वलाई सीमित गर्दै इरानलाई मध्यपूर्वको एक निर्विकल्प शक्तिको रूपमा स्थापित गरेको छ।
श्राेतः अनलाइन सामाग्रीहरू

Comments
Post a Comment