अवैध इजरायली बस्तीको जमिन बिक्री विरुद्ध लन्डनमा विशाल प्रदर्शन
इजरायल द्बारा कब्जा गरिएको वेस्ट बैंक (West Bank) मा निर्मित अवैध इजरायली बस्तीका जमिन र घरहरू बिक्री गर्ने कुराकाे बिराेधमा बेलायतको राजधानी लन्डनमा आयोजित एक कार्यक्रमको विरोधमा सयौँ प्रो-प्यालेस्टाइनी (प्यालेस्टाइन समर्थक) प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
आइतबार आयोजित "ग्रेट इजरायली रियल इस्टेट इभेन्ट" (Great Israeli Real Estate Event) का विरुद्ध प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले "प्यालेस्टाइनको चोरी भएको भूमि अवैध रूपमा बिक्री गर्न बन्द गर" र "तिमीले चोरी गर्नु हुँदैन" जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
जमिन बिक्री मेलाको विरोध भइरहँदा इजरायल समर्थकहरूले पनि काउन्टर-प्रदर्शन (विपक्षी प्रदर्शन) गरेका थिए, जसका कारण त्यहाँको वातावरण निकै तनावग्रस्त बनेको थियो। केही इजरायल समर्थकहरूले "प्यालेस्टाइनको अस्तित्व नै छैन" भन्दै नाराबाजी समेत गरेका थिए।
स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। लन्डनको नगर प्रहरीका अनुसार सार्वजनिक शान्ति भङ्ग गरेको लगायतका विभिन्न आरोपमा प्रदर्शन स्थलबाट १५ जनालाई पक्राउ गरिएको छ।
अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन
प्यालेस्टाइनी युथ मुभमेन्टका एक आयोजक जेनिन होउरानीले अल जजीरासँग कुरा गर्दै भनिन्, "लन्डनमा बसोबास गर्ने प्यालेस्टाइनीका रूपमा हामी हाम्रो मातृभूमिको बिक्री गर्ने कार्यलाई ठाडो अस्वीकार गर्छौँ। यो कार्य अन्तर्राष्ट्रिय कानुन विपरित छ।"
अन्तर्राष्ट्रिय कानुन अनुसार कब्जा गरिएको प्यालेस्टाइनी क्षेत्रमा इजरायलले बनाएका बस्तीहरू अवैध मानिन्छन्। सन् २०२४ मा अन्तर्राष्ट्रिय अदालत (ICJ) ले पनि इजरायलको यो कब्जा गैरकानुनी भएको र यसलाई अन्त्य गरिनुपर्ने फैसला सुनाएको थियो।
बेलायती सांसदहरूको असन्तुष्टि
'माई होम इन इजरायल' नामक रियल इस्टेट एजेन्सीले आयोजना गरेको यस कार्यक्रमलाई रोक्न बेलायतका मानवअधिकारवादी र राजनीतिज्ञहरूले सरकारलाई दबाब दिएका थिए। बेलायतका प्रधानमन्त्री कीर स्टारमरको लेबर पार्टीका सदस्यहरू सहित झन्डै १०० जना बेलायती सांसदहरूले शुक्रबार सरकारलाई एक पत्र लेख्दै यो गैरकानुनी गतिविधि प्रवर्द्धन गर्ने कार्यक्रम रोक्न माग गरेका थिए।
प्यालेस्टाइनी मूलकी पहिलो बेलायती सांसद लेला मोरनले यस जमिन बिक्रीलाई "अस्वीकार्य" भन्दै कडा टिप्पणी गरेकी छन्। उनले भनिन्, "यो कार्यक्रम हुनु नै बेलायती जनता र अन्तर्राष्ट्रिय कानुनको उपहास हो। नगर प्रहरीले यसलाई रोक्नुपर्थ्यो। यदि यस्ता कारोबार रोक्ने कानुन छैन भने बेलायती भूमिमा यस्ता गतिविधि रोक्न हामीले छिट्टै नयाँ कानुन बनाउनुपर्छ।"
(श्राेतः अल जजिरा )
अन्तर्राष्ट्रिय कानुन विपरित यसरी बेलायती भूमिमा कब्जा गरिएको जमिनको खरिदबिक्री हुनु कत्तिको न्यायसङ्गत हो? तल कमेन्ट बक्समा आफ्नो विचार साझा गर्नुहोला।

Comments
Post a Comment