'वान मिस्टेक, गेम फिनिस' : विश्वकपको चक्रव्यूहमा जब महारथीहरूको घमण्ड गर्ल्याम्म ढल्छ!
फुटवल खेलको मैदानमा इतिहासले गोल गर्दैन, वर्तमानले बोल्छ। जब रेफ्रीको ह्विसल बज्छ, कागजी तथ्याङ्क र स्टार खेलाडीको रवाफ,टिम समर्थककाे भिड हावामा बिलाउँछ। फिफा विश्वकप २०२६ का पछिल्ला तीन भिडन्तले एउटा निर्मम सत्यलाई उजागर गरेका छन्— यहाँ गल्तीको कुनै क्षमादान छैन। 'वान मिस्टेक, गेम फिनिस!' उपाधिका दाबेदार मानिएका युरोपियन र दक्षिण अमेरिकी महारथीहरू नवप्रवेशी र अन्डरडग टोलीको रणनीतिक जालमा नराम्ररी फसेका छन्।
स्पेनको खडेरी, बेल्जियमको संघर्ष र उरुग्वेको 'हार्ट-अट्याक' मोमेन्टले यसपटकको विश्वकपको समीकरण कति खतरनाक छ भन्ने स्पष्ट पारिदिएको छ।
१. स्पेनको अहंकारमाथि केप भार्डेको 'बज्रपात'
युरोपियन च्याम्पियन स्पेनले सायद सपनामा पनि सोचेको थिएन कि विश्वको तेस्रो सानो राष्ट्रले उसको विश्वकप अभियानको सुरुवातमै यति भयानक तगारो खडा गर्नेछ। एट्लान्टाको मैदानमा ६७ हजार दर्शक साक्षी राखेर केप भार्डेले स्पेनिस 'टिकी-टाका'लाई माटोमा मिलाइदियो।
४० वर्षे पर्खाल: केप भार्डेका गोलरक्षक भोजिन्हा उमेरले ४० पुगे पनि स्पेनिस स्ट्राइकरहरूका लागि उनी अभेद्य फलामे पर्खाल बने। उनका हरेक डाइभ र पन्चले स्पेनको मनोबल गिराउँदै लगेको थियो।
रणनीतिक भुल: ह्यामस्ट्रिङको बहानामा लामिन यमल, निको विलियम्स र डानी ओल्मोलाई बेन्चमा राख्ने प्रशिक्षकको निर्णय स्पेनका लागि 'वान मिस्टेक' साबित भयो। दोस्रो हाफमा यमल मैदान छिर्दा धेरै ढिला भइसकेको थियो; केप भार्डेले आफ्नो रक्षापंक्तिमा अभेद्य चक्रव्यूह रचिसकेको थियो। गोलरहित बराबरी स्पेनका लागि लज्जास्पद धक्का हो भने केप भार्डेका लागि ऐतिहासिक विजयोत्सव।
२. इजिप्टको 'मास्टरक्लास', बेल्जियमलाई आत्मघाती गोलको भिक
सियाटलमा इजिप्टले बेल्जियमको 'गोल्डेन जेनेरेसन'को अवशेषलाई झन्डै चिहानमै पुर्याइदिएको थियो। समूह ‘जी’ को सबैभन्दा बलियो मानिएको बेल्जियम इजिप्टको काउन्टर-अट्याक सामु निरीह देखियो।
सलाहको जादु, अशोरको फिनिसिङ: खेलको १९औं मिनेटमा मोहम्मद सलाहले निकालेको त्यो 'किलर पास' र इमाम अशोरले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहारले बेल्जियमको रक्षापंक्ति कति कमजोर छ भन्ने उदांगो पारिदियो।
भाग्यले बाँचेको बेल्जियम: पहिलो हाफमै जेरेमी डोकुले बराबरीको सुवर्ण अवसर नगुमाएको भए सायद कथा अर्कै हुन्थ्यो। तर, बेल्जियमलाई खेलमा फर्काउन आफ्ना खेलाडीले होइन, इजिप्टकै मोहम्मद हानीले 'उपहार' दिनुपर्यो। ६६औं मिनेटमा रोमेलु लुकाकुको दबाबमा हानीले आफ्नै पोस्टमा गरेको आत्मघाती गोलले बेल्जियमलाई हारको नर्कबाट तानेर १-१ को बराबरीमा ल्याइपुर्यायो।
३. उरुग्वेको सात्तो लिने साउदीको त्यो 'खतरनाक' आक्रमण
उरुग्वे जस्तो दुई पटकको विश्वकप विजेता टोलीलाई साउदी अरेबियाले ८० मिनेटसम्म त्राहीमाम बनायो। पहिलो हाफमै सानदार गोल गर्दै साउदीले खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो।
मध्यपूर्वको गर्मी र साउदी खेलाडीहरूको गति सामु उरुग्वेका डिफेन्डरहरू थकित र निराश देखिन्थे। साउदीले जुन रक्षात्मक अनुशासन देखायो, त्यसले उरुग्वेको क्याम्पमा ठूलै भूकम्प ल्याइदिएको थियो।
खेल सकिन १० मिनेट मात्र बाँकी रहँदा उरुग्वेले मुस्किलले गोल फर्काएर १-१ को बराबरी गर्दै आफ्नो इज्जत त जोगायो, तर साउदीले दिएको यो झट्काले स्पष्ट सन्देश दिएको छ— यसपटक कोही पनि सुरक्षित छैनन्।
विश्वकपको यो संस्करणले एउटा नयाँ भाष्य निर्माण गर्दैछ। ठूला नाम र ब्रान्डको भरमा अब मैदान मारिँदैन। स्पेन, बेल्जियम र उरुग्वेले समयमै आफ्नो गल्ती सच्याएनन् भने, अर्को एउटा सानो गल्तीले उनीहरूको विश्वकप यात्रालाई सधैंका लागि 'फिनिस' गरिदिन सक्छ। डार्क हर्सहरू जागिसकेका छन्, अब महारथीहरूको निद्रा हराम हुने पालो हो!

Comments
Post a Comment