नक्साबाट मेटिएको त्यो 'खतरनाक' फुटबल टोली !

अमेरिका, क्यानडा र मेक्सिकोमा यतिबेला विश्वकप २०२६ को महाकुम्भ चलिरहेको छ। विश्वभरका फुटबल प्रेमीहरू आ-आफ्ना टोलीको समर्थनमा रमाइरहँदा, फुटबल इतिहासको पानामा कैद भएको एउटा यस्तो टोलीको सम्झना ताजा भएको छ— जसले कुनै समय विश्व फुटबलमा राज गरेको थियो। त्यो टोली थियो, तत्कालीन सोभियत संघ
शीतयुद्धको समयमा अमेरिकासँग अन्तरिक्षदेखि हतियारसम्मको होडबाजी गरिरहेको सोभियत संघले फुटबललाई पनि आफ्नो शक्तिको कडी बनाएको थियो। उपाधि नै उचाल्न नसके पनि आफ्नो उत्कृष्ट खेल शैली र विश्वस्तरीय खेलाडी उत्पादनका कारण यो टोलीको कथा आज पनि फुटबल जगतमा रोचक मानिन्छ।
सन् १९५८ को स्विडेन विश्वकपबाट आधिकारिक रूपमा डेब्यु गरेको सोभियत संघले पहिलो प्रयासमै आफूलाई बलियो शक्तिका रूपमा उभ्यायो। ब्राजिल र इंग्ल्यान्डजस्ता महारथीहरूसँग एउटै समूहमा पर्दा पनि टोलीले क्वार्टरफाइनल यात्रा तय गरेको थियो।
सोभियत टोलीको सबैभन्दा सानदार प्रदर्शन भने सन् १९६६ को इंग्ल्यान्ड विश्वकपमा देखियो। महान् गोलरक्षक लेभ यासिनको कप्तानीमा रहेको उक्त टोलीले इटाली र चिलीजस्ता टोलीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित हुँदै टोलीले चौथो स्थानमा चित्त बुझाउनु परे पनि विश्व फुटबलमा सोभियत संघको प्रभाव स्थापित भइसकेको थियो।
फुटबल र राजनीतिको टकरावको सबैभन्दा चर्चित घटना सोभियत संघसँगै जोडिएको छ। सन् १९७४ को विश्वकप छनोटअन्तर्गत चिलीसँगको प्ले-अफ खेल खेल्न सोभियत टोलीले ठाडै अस्वीकार गरेको थियो।कारण थियो— चिलीका तत्कालीन तानाशाह अगस्टो पिनोचेटले त्यहाँको राष्ट्रिय रंगशालालाई राजनीतिक विरोधीहरूलाई थुन्ने र हत्या गर्ने 'कन्सन्ट्रिएसन क्याम्प' बनाएका थिए। रगतले लतपतिएको मैदानमा खेल्न आफ्नो वैचारिक सिद्धान्तले नदिने भन्दै सोभियत संघले तटस्थ भूमिमा खेल खेलाउन फिफासँग माग गर्‍यो। फिफाले उक्त माग नमानेपछि सोभियत टोलीले विश्वकपकै टिकट दाउमा राखेर चिली जान अस्वीकार गरेको थियो।
सोभियत संघले विश्व फुटबललाई कहिल्यै बिर्सन नसकिने केही महान् हस्तीहरू दिएको छ:लेभ यासिन (ब्ल्याक स्पाइडर):फुटबल इतिहासमै 'बालोन डी'ओर' (सन् १९६३) जित्ने एकमात्र गोलकिपर। उनी पेनाल्टी बचाउन निकै माहिर थिए। फिफाले आज पनि उनको सम्मानमा उत्कृष्ट गोलकिपरलाई 'यासिन अवार्ड' प्रदान गर्ने गर्छ।
ओलेग ब्लोखिन: सोभियत संघका 'गोल मेसिन'। सन् १९७५ का बालोन डी'ओर विजेता ब्लोखिनले राष्ट्रिय टोलीका लागि सर्वाधिक ११२ खेल खेल्दै ४२ गोल गरेका थिए।
इगोर बेलानोभ: सन् १९८६ मा बालोन डी'ओर जित्ने तेस्रो तथा अन्तिम सोभियत खेलाडी।
इगोर नेटो: सन् १९५६ को ओलम्पिक स्वर्ण र १९६० को पहिलो युरोकप विजेता सोभियत टोलीका सफल एवं प्रभावशाली कप्तान।
सोभियत संघकाे पतन र तितरबितर भएको टोली
सन् १९९० को इटाली विश्वकप नै सोभियत संघले खेलेको अन्तिम विश्वकप बन्न पुग्यो। सन् १९९१ मा विशाल सोभियत साम्राज्य ढल्यो र १५ वटा नयाँ राष्ट्रहरूमा विभाजित भयो।
देश टुक्रिएसँगै फुटबल टोली पनि छिन्नभिन्न भयो। खेलाडीहरूले आफ्नो जन्मभूमि र नयाँ देश रोज्नुपर्ने बाध्यता आइलाग्यो। ओलेग सालेन्को जस्ता केही खेलाडी रुसतिर लागे भने महान् खेलाडी ओलेग ब्लोखिनहरू युक्रेनको हिस्सा बने।
विभाजनपछि रुसले सोभियत संघको उत्तराधिकारीको रूपमा मान्यता पाए पनि विश्वकपमा सन् २०१८ (आयोजक राष्ट्रको रूपमा क्वार्टरफाइनल) बाहेक ठूलो जादु देखाउन सकेन। युक्रेनमाथिको सैन्य हमलापछि त रुस हाल अन्तर्राष्ट्रिय फुटबल (फिफा र यूईएफए) बाटै प्रतिबन्धित अवस्थामा छ। यता, सोभियत संघबाटै छुट्टिएका युक्रेन र उज्वेकिस्तान जस्ता देशहरूले भने अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छुट्टै पहिचान बनाउने संघर्ष गरिरहेका छन्।
एउटा काल्पनिक प्रश्न: आज पनि फुटबल विश्लेषकहरू बेलाबेला यो सोचेर रोमाञ्चित हुन्छन्— यदि सोभियत संघ नटुक्रिएको भए, रुसका बलिया डिफेन्डर, युक्रेनका घातक स्ट्राइकर र मध्य एसियाका प्राविधिक खेलाडीहरू मिलेर बनेको एउटै टोलीले आजको विश्वकपमा कस्तो तहल्का मच्चाउँदो हो?

श्रोत: एजेन्सीकाे सहयाेगमा

Comments

Popular posts from this blog

विश्वकप २०२६: नेदरल्यान्ड्स र जापानबीच महाभिडन्त, कसले मार्ला बाजी?

अवैध इजरायली बस्तीको जमिन बिक्री विरुद्ध लन्डनमा विशाल प्रदर्शन