फिफा विश्वकप २०२६: दुई शक्तीशाली टिमकाे महाभिडन्त नतिजा बराबरिमा टुङ्गियाे ।

अमेरिकाको डलासमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को आफ्नो पहिलो भिडन्तमा जापान र नेदरल्यान्ड्सले रोमाञ्चक २-२ गोलको बराबरी खेलेका छन्। दुई पटकसम्म पछि परेको अवस्थालाई उल्ट्याउँदै जापानी टोलीले डच टोलीसँग महत्त्वपूर्ण अंक बाँड्न सफल भएको हो।

६९ हजारभन्दा बढी दर्शकमाझ डलास स्टेडियममा खेलिएको यस प्रतिस्पर्धाको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। सुरुवाती समयमा डच टोलीले खेलमा बलियो पकड जमाएको थियो। नेदरल्यान्ड्सका डोनिएल मालेनले गरेका तीनवटा उत्कृष्ट प्रहारलाई जापानी गोलरक्षक जियोन सुजुकीले विफल पारिदिएका थिए।

दोस्रो हाफ सुरु भएपछि भने दुवैतर्फबाट आक्रामक खेल प्रस्तुत भयो। ५१औं मिनेटमा रियान ग्राभेनबेर्चले उपलब्ध गराएको क्रसलाई सदुपयोग गर्दै कप्तान भर्जिल भान डाइकले हेडिङमार्फत गोल गरेर नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए। तर, उक्त अग्रता धेरै बेर टिक्न सकेन। ५७औं मिनेटमा ताकेफुसा कुबोको पासमा केइतो नाकामुराले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई १-१ को स्थितिमा ल्याइपुर्‍याए।

त्यसको केही बेरमै, अर्थात् ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले जापानी डिफेन्डरहरूलाई छक्याउँदै सुन्दर व्यक्तिगत गोल गरेपछि नेदरल्यान्ड्स फेरि २-१ ले अगाडि बढ्यो। उनको सटिक प्रहारलाई रोक्न गोलकिपर सुजुकी असफल रहे।

यद्यपि, हार नमानेको जापानी टोलीले अन्तिम समयसम्म निरन्तर आक्रमण बुनिरह्यो। फलस्वरूप, खेल सकिनै लाग्दा ८८औं मिनेटमा कोकी ओगावाको प्रयासलाई डाइची कामाडाले उत्कृष्ट हेडमार्फत जाली चुमाउँदै खेललाई पुनः २-२ को रोमाञ्चक बराबरीमा ल्याइछाडे।

जापानी टोलीको यो सङ्घर्षपूर्ण र सनसनीपूर्ण पुनरागमनसँगै रंगशालामा उपस्थित हजारौं जापानी दर्शकहरूले भव्य खुसियाली मनाएका थिए। यो नतिजापछि दुवै टोलीले समूह 'एफ' को आफ्नो पहिलो खेलबाट तालिकामा १-१ अंक जोडेका छन्।

श्राेसः एजेन्सी ।

Comments

Popular posts from this blog

विश्वकप २०२६: नेदरल्यान्ड्स र जापानबीच महाभिडन्त, कसले मार्ला बाजी?

अवैध इजरायली बस्तीको जमिन बिक्री विरुद्ध लन्डनमा विशाल प्रदर्शन